काठमाण्डौं- समाचार वेबसाइट न्युजक्लिकसँग जोडिएका पत्रकारहरूको घरमा मंगलबार बिहान दिल्ली प्रहरीले छापा मारेको छ । प्रहरीले केही पत्रकारको ल्यापटप तथा मोबाइललाई नियन्त्रणमा लिएको छ । मिडिया रिपोर्टका अनुसार दर्जनौं पत्रकारको घर र कार्यालयहरूमा प्रहरीले छापा मारेको हो ।
न्युजक्लिकमा कार्यरत पत्रकारहरू प्रवीर पुरकायस्थ, सञ्जय राजौरा, उर्मिलेश, भाषा सिंह, औनिंद्यो चक्रवर्ती, अभिसार शर्मा र सोहेल हासमीलगायतको घरमा प्रहरीले छापामा मारेको हो । प्रहरीले छापा मार्नुको कारण बताइसकेको छैन ।
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारको आलोचनामा समाचारहरू प्रकाशन र प्रसारण गर्ने संस्थाका रुपमा उक्त वेबसाइट चिनिँदै आएको छ । यसअघि नै सरकारले उक्त वेबसाइटमाथि चिनियाँ प्रोपोगान्डा फैलाउने उद्देश्यले लगानी भित्र्याएको आरोप लगाइसकेको छ । केही समयअघि केन्द्रीय मन्त्री अनुराग ठाकुरले एक मिसनअन्तर्गत भारतको दुष्प्रचार भइरहेको बताएका थिए । उनले त्यसमा न्युजक्लिकमाथि पनि त्यस्तो आशय प्रकट गरेका थिए । उनले न्युजक्लिक भारतविरुद्ध प्रचार गर्ने संस्था रहेको उल्लेख गरेका थिए ।
प्रेस क्लब अफ इन्डियाले न्युजक्लिकसँग जोडिएका पत्रकार र अन्य व्यक्तिको घरमा छापा मार्नुलाई चिन्ताजनक भनेको छ । क्लबले समाजिक सञ्जाल एक्समार्फत क्लब पत्रकारहरूको साथमा रहेको जनाएको छ । घटनाप्रति नजर राखिएको र यसबारे थप जानकारी दिन सरकारसँग क्लबले माग गरेको छ ।