काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् ।
आइतबार नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् ।
विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीलाई भविष्यमा नदोहोर्योउने प्रतिवद्धतासहित अघि बढ्न उनले सुझाव दिए । उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौति त्यत्तिकै रहेको भन्दै आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने बताए । उनले विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरुलाई सुधारेर जानसक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताए ।
अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धिकरण जरुरी रहेको बताएका छन् । उनले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धिकरण गर्नुपर्ने जिम्मेवारी रहेको बताए । उनले प्रशासन संयन्त्रमा पनि शुद्धिकरण जरुरी रहेको बताए । उनले प्रशासन संयन्त्रको शुद्धिकरण बिना देशको आवश्यकता पूरा गर्न नसकिने बताए ।