काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको हो ।
अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । प्रतीकलाई सीआईबीको टोलीले असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । यो प्रकरणमा प्रहरीले आरोपीहरु पक्राउ गर्न थालेदेखि नै थापा फरार थिए । उनलाई प्रहरीले गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो ।
उक्त प्रकरणमा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरीको अनुसन्धानले खुलाएको थियो । भुटानी शरणार्थी प्रकरणमा पीडितबाट थापाले रकम लिएको भन्दै जाहेरी परेको थियो । यस प्रकरणमा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए । उनिहरु सहित जना हाल पुर्पक्षका लागि थुनामा छन् । कांग्रेस नेता बालकृष्ण खाँण र आङटावा शेर्पासहित केही आरोपी भने धरौटीमा रिहा भएका छन् ।