काठमाडौं । गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन् ।
विष्टले गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ भन्दै असार २१ गते शुक्रबार थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएको प्रहरीको दाबी छ ।
प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको उक्त कुरा बाहिरिएको थियो । गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५ गते मंगलबार विष्टलाई सेवाबाट हटाएका थिए ।
थमौतीका लागि गृहमन्त्रालयका लागि पुगेका उनी मन्त्रालयबाटै पक्राउ परेका हुन् । भिजिट भिसामा गैरकानूनी रुपमा मान्छे पठाउने काम गरिरहेको आशंकामा थप अनुसन्धानका लागि विष्टलाई प्रहरीको जिम्मा लगाएर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
विष्टलाई मावन बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो । विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए ।