काठमाडौँ- बढ्दो मुद्रास्फीति (बजार महँगी) घटाउनका लागि प्रभावकारी बजार अनुगमनमा ध्यान दिनुपर्ने केन्द्रीय बैंकले औँल्याएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै केन्द्रीय बैंकले बिक्रेतालाई अस्वाभाविक मार्जिन लिन नदिने गरी बजार अनुगमन प्रभावकारी बनाउन सकेमा महँगी केही नियन्त्रणमा आउने बताएको हो ।
साथै, अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेअनुरूप नेपालमा पनि इन्धनको मूल्य समायोजन गरी सवारी साधनको भाडा दर घटेमा उपभोक्ता मुद्रास्फीति घट्न थप सहयोग पुग्ने समेत केन्द्रीय बैंकले बताएको छ ।
‘मुद्रास्फीति अझै लक्ष्यभन्दा केही माथि रहेको छ । २०७९ चैत मसान्तमा वार्षिक बिन्दुगत मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । २०७८ चैत मसान्तमा यस्तो मुद्रास्फीति ७।२८ प्रतिशत रहेको थियो । गत वर्षको नौ महिनामा औसत मुद्रास्फीति ५.७३ प्रतिशत रहेकोमा चालु वर्षको नौ महिनामा औसत मुद्रास्फीति ७.९१ प्रतिशत रहेको छ ।
खाद्यान्न, दुग्ध पदार्थ, घरायसी उपभोग्य वस्तुहरु, आयातित वस्तुहरु र इन्धनको मूल्य वृद्धिका साथै नेपाली रुपैयाँ अवमूल्यनका कारण उपभोक्ता मूल्यमा चाप परिरहेको छ । चालु आर्थिक वर्षको औसत मुद्रास्फीति लक्ष्यभन्दा केहीमाथि रहने देखिन्छ ।
नेपालमा उपभोग्य वस्तुको मूल्य खासगरी आन्तरिक उत्पादन, आयातित वस्तुहरूको मूल्य र थोक तथा खुद्रा बिक्रेताले लिने मार्जिनमा निर्भर रहने गर्दछ ।
आयाततर्फ, करिब दुई–तिहाइ आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आयात भारतबाट हुने गरेको छ । भारतमा थोक मूल्य घट्दै गइरहेको छ । सन् २०२२ मार्च महिनामा भारतमा थोक मूल्य वृद्धि १४.६३ प्रतिशत रहेकोमा सन् २०२३ मार्च महिनामा १.३४प्रतिशतमा झरेको छ । यसर्थ, बाह्य तथा आन्तरिक आर्थिक परिदृश्य र आयातित वस्तुहरूको घट्दो मूल्य वृद्धिदरलाई दृष्टिगत गर्दा मूल्यमा रहेको चाप क्रमशः कम हुँदै जाने देखिन्छ’ केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत भनेको छ ।