धनकुटा– १५ औँ संस्करणको शहीद भीमनारायण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाण्डौले जितेको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा आज बुधवार भएको फाइनलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । प्लानिङ ब्वाइजका लागि विदेशी खेलाडी यो निपोलियनले २ तथा समिर थापा र विशाल दर्जीले १र१ गोल गरे ।
उपाधिसँगै प्लानिङ ब्वाइजले पाँच लाख रुपैयाँ पाएको छ । यस्तै उपविजेता बनेको वीरगञ्ज युनाइटेडले दुई लाख ५० हजार रुपैयाँ पायो । फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका अभिनास थापा मगर घोषित भए । उनले चार हजार रुपैयाँ पाए ।
त्यस्तै विजेता टिमका विशाल दर्जी उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर लोकेश चौधरी, उत्कृष्ट स्ट्राइकर यो निपोलियन घोषित भए भने वीरगञ्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरूले सातरसात हजार रुपैयाँ पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका डेडी वाम्वा घोषित भए । उनले १५ हजार रुपैयाँ पाए । खेलाडीहरूलाई एन्फाका उपाध्यक्ष दावा लामा, पाख्रीबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।