काठमाण्डौ- कर्णाली, गण्डकी र बाग्मती प्रदेशका पहाडी भू–भागमा चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले नेपालमा प्रभाव पारिरहेको पश्चिमी र स्थानीय वायुको कारण कर्णाली, गण्डकी र बाग्मती प्रदेशका पहाडी भू–भागमा चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले विकसित भइरहेको बादल पूर्वतर्फ फैलिरहेको जानकारी गराउँदै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । विकसित प्रणालीका कारण आउँदो तीन दिनसम्म देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो ठूलो पानी परेको गण्डकी प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा पनि मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश र मधेस प्रदेशको तराईको केही ठाउँमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।