पर्वत- प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा नेपालका परम्परागत तारा खेल र ठेलो प्रतियोगिता सञ्चालन गरिने भएको छ।
स्थानीय परम्परागत खेलहरूको संरक्षण गर्न वार्षिक रूपमा विभिन्न खेलको प्रतियोगिता गर्दै आएको परिषद्ले पुराना खेलको संरक्षणकै लागि मुस्ताङमा तारा खेल र म्याग्दीमा ठेलो फाल्ने प्रतियोगिताको आयोजना हुन लागेको हो।
तारा खेल प्रतियोगिता आउँदो जेठ १७ र १८ गते मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा हुँदै छ। यस्तै ठेलो फाल्ने प्रतियोगिता आउँदो जेठ २० गते म्याग्दी सदरमुकाम बेनीमा हुँदै छ। प्रदेश खेलकुद परिषद्का सदस्य तथा प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनका अनुसार दुवै खेलमा प्रदेशका ११ ओटै जिल्लाका खेलाडीहरूलाई सहभागी गराउन ११ वटै जिल्ला खेलकुद विकास समितिहरूलाई पत्राचार गरिएको छ।
तारा खेलमा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र मनाङ गरेर छ जिल्लाका खेलाडी सहभागी हुने निधो भइसकेको छ। मुस्ताङ र आसपासको क्षेत्रमा तारा खेल चल्तीमा रहेकाले खेलाडी सहजै उपलब्ध भए पनि अन्य जिल्लामा भने कम देखिएका छन्। अन्य जिल्लामा खेलाडी भए समेत सहभागिताका लागि अनुरोध गरिएको पनि शेरचनले बताए। प्रत्येक जिल्लाबाट एक टिममा बढीमा छ जना खेलाडी सहभागी हुन पाउने छन्।
तारा खेलतर्फ प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः ७५ हजार, ५० हजार र ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वश्रेष्ठ धर्नुधरले
नगद पाँच हजार र विशिष्ट धर्नुधरले नगद तीन हजार सहित मेडल र प्रमाणपत्र पाउने छन्।
जेठ २० गते म्याग्दीमा हुने ठेलो फाल्ने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। खेलमा सहभागिताका लागि तीन जनाको नाम परिषदमा पठाउन पत्राचार गरिएको छ।
गत वर्ष परिषद्ले सुरु गरेको ती दुवै प्रतियोगिताहरूमध्ये गत वर्ष तारा खेल मनाङमा र ठेलो खेल कास्की जिल्लामा आयोजना गरिएको थियो।