काठमाडौँ- गाईभैँसीमा देखिने लम्पी स्किन रोग नेपालका ४० जिल्लामा फैलिसकेको छ । पशु सेवा विभागका अनुसार हालसम्म ४० लाख गाईभैँसीलाई लम्पी स्किन रोग पुष्टि भएको छ । यसबाट ७ हजार बस्तुभाउ मरेको विभागको तथ्याङ्क छ ।
नेपालमा पहिलो पटक २०७७ सालमा सङक्रमजन्य लम्पी स्किन रोग पुष्टि भएको थियो । त्यसबेला करिब ३ हजार पशुमा यो रोग पुष्टि भएको थियो । विगत गाईभैँसीमा देखिने यो रोग अफ्रिकामा मात्र सीमित थियो । तर सन् २०१२ पछि मध्यपूर्व, दक्षिण–पूर्वी युरोप, रुस, काजकिस्तान हुँदै बंगलादेश र भारतमा केही वर्षअघि यो रोग देखापरेको थियो ।
लम्पी स्किन रोग पक्स समूहको काप्रीपक्स भाइरसबाट लाग्ने पशु सेवा विभागका वरिष्ठ पशु विज्ञ तथा सूचना अधिकारी डा. चन्द्र ढकाल बताउँछन् । लम्पी स्किन रोग भैँसीमा भन्दा गाईमा बढी देखिने उनको भनाई छ । हाल नेपालका विभिन्न जिल्लामा यो सङ्क्रामक रोग देखिएकाले सचेत हुन डा. ढकालको आग्रह छ ।
लम्पी स्किन रोगबाट सङ्क्रमित भएका गाईभैँसीको दूध विक्री वितरण नगर्न र नखान उनको सुझाव छ । हालसम्म पशुबाट मानिसमा यो रोग सरेको नपाइए पनि संक्रमित पशुलाई विभिन्न किसिमको औषधि खुवाइने भएकाले दूध खान नहुने ढकालले बताए । ‘ लम्पी स्किन रोगबाट सङ्क्रमित बस्तुभाउले दूध पनि कम दिने गर्छन्,’ उनले भने, ‘यो रोग लागेका गाईभैँसीको दूध धेरै बेरसम्म उमालेर खान त हुन्छ । तर, गाईभैँसीलाई औषधि सेवन गराइने भएकाले दूध नखाएकै बेस हुन्छ ।’ औषधि सेवन गराइएका गाईभैँसीको दूध खाँदा स्वास्थ्यमा असर पर्न सक्ने उनले बताए ।