काठमाण्डौ- काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा सामान्य वर्षा भएको छ । एक हप्ताभन्दा बढी समयदेखि लगातार लागेको चर्को घामका कारण तापक्रम बढिरहेको बेला आज मौसम बदलीसहित केही ठाउँमा वर्षा पनि भएको हो ।
पछिल्लो तीन घण्टामा म्याग्दीको घोरेपानीमा रहेको मापन केन्द्रमा १९ दशमलव तीन मिलिमिटर र बैतडीको सन्तबाझमा १७ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाण्डौको कीर्तिपुरमा पाँच दशमलव आठ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो काठमाण्डौ उपत्यकाका केही ठाउँसहित सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, कास्की, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, रुकुम, बाजुरालगायतका जिल्लामा रहेका मापन केन्द्रहरूले पानी परेको देखाएका छन् । तर पानी पार्ने प्रभावकारी प्रणाली नदेखिएकोले धेरैबेरसम्म पानी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति पनि कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका केही ठाउँमा वर्षाको सम्भावना छ । भोलि मङ्गलवार पनि पहाडी भू–भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण हिजो आइतवारको तुलनामा आज र भोलि पश्चिमी क्षेत्रमा तापक्रम केही घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । केही दिनदेखि तापक्रम बढेर तातो हावा चलेको तराईका जिल्लाहरूमा पनि आज तापक्रम केही घटेको छ । हिजो र अस्ति अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेका सबैजसो ठाउँको अधिकतम तापक्रम आज दिउँसो ४० डिग्रीभन्दा तल रहेको छ । आज तापक्रम केही घटेको भए पनि तराईका जिल्लामा अझै पनि तापक्रम बढेर तातो हावा चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।