भारतको मणिपुर राज्यको पश्चिमी इम्फाल जिल्लाको कांगचुप क्षेत्रमा सोमवार फेरि हिंसा भड्किएको छ ।
दुई वटा सशस्त्र समूहको बीचमा भएको गोलीबारीमा तीन जनाको ज्यान गएको र अन्य चार जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार इम्फालको अस्पतालमा उपचार भइरहेको छ ।
मणिपुरमा भएको हिंसाको छानबिनका लागि केन्द्र सरकराले गुवाहाटी उच्च अदालतका पूर्वमुख्यन्यायाधीश अजय लाम्बाको अध्यक्षतामा आइतवार एक आयोग गठन गरेको छ ।
मणिपुरमा मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका थिए । मेइतीको मागमा त्यहाँका जनजातिहरू नागा र कुकीले विरोध गरेपछि जातीय द्वन्द्व चर्किएको हो।
मणिपुरमा मेइतीको जनसङ्ख्या ५४ प्रतिशत छ । उनीहरू धेरैजसो इम्फाल उपत्यकामा बस्छन् । ४० प्रतिशत जनसङ्ख्या ओगट्ने नागा र कुकी प्राय पहाडी जिल्लाहरूमा बस्छन् । दुई समुदायका बीचमा सरकारले वैमनस्ता बढाइदिएको उनीहरूको आरोप छ । झडपबाट कुकी समुदायलाई बढी क्षति पुगेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गएको मे ३ मा जातीय हिंसा सुरु भएयता मणिपुरमा झडपको घटना भइरहेको छ । झडपमा ज्यान गुमाउनेको सङ्ख्या ८० भन्दा धेरै रहेको अधिकारीहरूले बताएका छन् ।