काठमाडौँ - पछिल्ला २४ घण्टामा देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा ४ जनाको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थली सानोबाईपासस्थित सडकमा बा.२ ख ८४१३ नम्बरको बसको ठक्करबाट पैदलयात्री खोटाङ बराहपोखरी गाउँपालिका–४ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-७ फुटुङ्ग बस्ने १७ वर्षीय लप्सन राईको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता चितवनको भरतपुर महानगरपालिका-२५ स्थित सडकमा शंकर चोकबाट बिशाल चोकतर्फ जाँदै गरेको बा. ०३–००१ च १३८४ नम्बरको बोलेरो गाडीबाट लडेर सोही महानगरपालिका–२४ बस्ने ३६ वर्षीय रन बहादुर भुजेलको मंगलबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै काभ्रेको बनेपा नगरपालिका-१३ नासिका मन्दिर अगाडि साँगाबाट बनेपातर्फ जाँदै गरेको बा. ४ ख ४२९४ नम्बरको निसान गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने तिमाल गाउँपालिका–९ घर भएका ७० वर्षीय छेवाङ तामाङको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता धनुषाको मिथिला नगरपालिका-६ किरान मिलस्थित सडकमा ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको प्र. २–०२–००३ प २८७१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक चितवन रत्ननगर नगरपालिका–१२ बस्ने २८ वर्षीय प्रशान्त वाग्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।