काठमाण्डौ- नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको बिलिङ सेक्सनमा काम गरेका तीन जना पूर्वकर्मचारी अस्पतालबाट ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला गर्नुपर्ने भन्दा कम रकम देखाएर ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूले बिरामीबाट लाग्ने शुल्क लिएर सफ्टवेयरको दुरुपयोग गरी कम शुल्क प्रविष्ट गरी ठगी गरेका हुन् ।
यसरी ठगी गरेको आरोपमा पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–४ घर भई भक्तपुरको ठिमी बस्ने ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने २९ वर्षीय सनम देशार र काठमाण्डौको बालुवाटार बस्ने ३४ वर्षीय आशीष अर्याल छन् ।
उनीहरूविरुद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिनुभयो । उनीहरूलाई आजै सार्वजनिक पनि गरिएको छ ।
ती कर्मचारीले अस्पतालमा प्रयोग हुँदै आएको सफ्टवेयरको दुरुपयोग गरी बिरामीबाट शय्या शुल्क, डाक्टर शुल्क र नर्सिङ शुल्कसमेतको वास्तविक शुल्क लिई लिएको शुल्कभन्दा कम शुल्क देखाएर दुई करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको ललितपुर प्रहरीको भनाइ छ ।