काठमाडौं- पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगंज बजारस्थित शिव मन्दिरमा सोही नगरपालिका देबनगडीया बस्ने ६० वर्षीय शंकर कहार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रुपन्देहीको मायादेवी गाउँपालिका–१ धमौली बस्ने ५० वर्षीय कपिल लोध सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ झिलमिला गड्डा टोल बस्ने ४५ वर्षीया दुर्गा थापा पनि सोही ठाउँस्थित उखुबारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी रौतहटको परोहा नगरपालिका–७ स्थित पोखरीमा अन्दाजी ६ वर्षीया बालिका बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । काभ्रे, भुम्लु गाउँपालिका–७ राजकोटस्थित सुनकोशी नदीमा पनि अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यी दुई जनाको सनाखत हुन सकेको छैन ।
प्रहरीका अनुसार मोरङको केराबारी गाउँपालिका–५ बस्ने ३८वर्षीय युवराज रानामगर सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।