काठमाडौँ–नेपाल बार एसोसिएसनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने माग गर्दै स्वतन्त्र कानून व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका छन् । आज नेपाल बार एसोसिएसनमा पुगेर उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले बार प्रवेशमा राजनीतिक दलको सिफारिस लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै बार नेतृत्वलाई ज्ञापन पत्र बुझाएका हुन् ।
कानुन व्यवसायिहरुले बारमा राजनीतिक हस्तक्षेप भएकै कारण स्वतन्त्र न्यायपालिका र सक्षम बारको अवधारणा नै संकटमा पुगेको ज्ञापन पत्रमा उल्लेख गरेका छन् । दिनका दिन कानुन व्यवसायमा अप्राकृतिक हस्तक्षेप बढेको उनीहरुको आरोप छ । बारको सदस्यता प्रदान गर्दा राजनीतिक आस्थाका आधारमा विभेद नगरी दिनुपर्ने परिपाटी स्थापित गर्नुपर्ने र न्यायलयमा आमूल परिवर्तन हुनुपर्ने स्वतन्त्र कानून व्यवसायी यज्ञमणी न्यौपाने बताउनु भयो ।
उहाँले राजनीतिक हस्तक्षेप हावी भएकै कारण सर्वोच्च लामो समय कायममुकायमका भरमा चल्न बाध्य भएको जिकिर गर्नुभयो । त्यस्तै कानून व्यवसायीहरूको ज्ञापन पत्र बुझ्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपाल बार एसोसिएसनले आफ्नो सदैव पालना गरेको दाबी गर्नुभयो । राजनितिको टोपी बारको गेट बाहिर नै खोलेर आउने गरेको बताउनु भयो ।
अध्यक्ष घिमिरेले कानूनी प्रक्रिया पुरा गरेर बारमा सदस्यता लिन चाहनेलाई सहजीकरण गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
साथै ज्ञापनपत्रमा उल्लेख गरिएका विषयवस्तुलाई मापदण्ड र प्रक्रियाका आधारमा बैठक बोलाएर आवश्यक निर्णय गर्ने बताउनु भएको छ ।