काठमाण्डौ- आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस ‘उनको हात, उनको अधिकार’ नाराका साथ मनाइँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्न सन् १९९५ देखि हरेक वर्ष जुन १७ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।
भूमिको स्वामित्वमा महिलाको समान अधिकारलाई पैरवी गर्न तथा लैगिंक समानता र भूक्षय तटस्थताको लक्ष्य सन् २०३० सम्म प्राप्त गर्न यस वर्षको नारा र उदेश्य केन्द्रित छ । यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दा, जलवायू परिवर्तन, भू–संंरक्षणलगायत विभिन्न विषयमा सन्देश प्रवाह गर्दै आएको छ ।
जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ भने, त्यसको असर प्रकृतिक सम्पदा तथा मानव समुदायमा पर्न थालेको छ । पछिल्ला वर्ष नेपालमा पनि जलवायू परिवर्तनको असरसँगै खडेरी बढ्दो छ । खडेरीलाई प्राकृतिक असरका रुपमा पनि व्याख्या गर्ने गरिएको छ । स्थानीय मौसममा फेरबदल हुँदा भूमिको उत्पादक क्षमता घटेर उर्वर भूमि क्रमशः अनुत्पादक हुन थालेका छन् । संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य पूरा गर्नका लागि पनि यो दिवस महत्वपूर्ण मानिएको छ ।