हेलम्बु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान क्षेत्रमा पुगेका प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा काठमाडौं पुगेर गृहकार्य गर्ने बताए । त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने उनको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले आयोजनाको मुहान र मुख्य सुरुङ रहेको अम्बाथानमा मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा जानकारी लिए । आयोजनाका बारेमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले उनलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री दाहालसँगको भेटमा हेलम्बु–१ का वडाध्यक्ष दावा ग्याल्जेन लामाले यस क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताएका थिए । उनले हेलम्बु–१ मा करिब नौ किलोमिटर सडक तत्काल कालोपत्रे गर्नुपर्ने अवस्था रहेकाले सरकारको ध्यानाकर्षण गराएका थिए । रासस