काठमाडौं- गएरातिको अविरल वर्षाले पूर्वी पहाडका विभिन्न जिल्लामा मानवीयसहित ठूलो क्षति पुर्याएको छ। संखुवासभा, पाँचथर र ताप्लेजुङमा बाढी पहिरोले एक जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन्।
संखुवासभाको हेवाखोलामा आएको बाढीले एक जनाको मृत्यु भएको छ। बाढीले अप्पर हेवाखोला हाईड्रोपावरमा काम गर्ने एक मजदुर मृत्यु भएको हो। परिचय खुल्न नसकेका कामदारको शव पाँचखपन नगरपालिका –५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। बाढीले ७ घर बगाएको छ।
यस्तै सुपर हेवाखोला हाइइड्रोपावरमा काम गर्ने १७ जना मजदुर सम्र्पकविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी बीरेन्द्र गोदारले जानकारी दिए।
बाढीले चैनपुर ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोपावरमा पुर्णरुपले क्षति पुगेको छ। बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ। प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटना स्थल तर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटना स्थलमा अहिले इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीका टोली खटिएका छन्।
यस्तै बाढी पहिरोले पाँचथरमा पाँच जना बेपत्ता भएका छन्। एक बालकको उद्धार गरिएको छ। हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित ५ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए।
बाढीले ९ वटा घर र केही आयोजनामा क्षति पुगेको छ। बाढीले मेची राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिका जोड्ने हेवा खोलामा आएको बाढीले हेवाखोलाको पुल नै बगाएपछि मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ। यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ।
यता ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन्। पहिरोले घर पुरिँदा यामकुमार बुढाथोकीका परिवारका ३ जना बेपत्ता भएका हुन। बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्ज्वल बुढाथोकी बेपत्ता भएका गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिए। उनका अनुसार सोही पहिरोमा परि छिमेकी गणेश तामाङ पनि बेपत्ता भएका छन्। घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको गाउँपालिका उपप्रमुख कडरियाले बताइन्।
मेहेलेका राजकुमार गौतमको एउटा घर र स्वास्थ्यचौकीको भवन पहिराले बगाएको छ। अबिरल वर्षासँगै आएको बाढीले सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ। निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन्। यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ। बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले बाढीपहिरोका घटनामा खोजी, उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्।
आज कोशी प्रदेशका केही पहाडी जिल्लाहरुमा आज राति पनि भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि केही जिल्लामा वर्षाको सम्भावना छ। इलाम, पाँचथर तथा झापामा समेत भारी वर्षाको सम्भावना रहेकाले सजगता अपनाउन विभागले आग्रह गरेको छ।