काठमाण्डौ- ताप्लेजुङको बाढीपहिरोका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
बाढीपहिरोका कारण बाटो अवरुद्ध भएकाले विद्यालय जान सक्ने अवस्था नरहेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित भएको हो ।
बाढीपहिरोले सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनमा रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा छ ।
योे विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ जना विद्यार्थीको पढाइ प्रभावित भएका सिरिजङ्घा गाउँपालिकाका शिक्षा शाखाले जनाएको ।
जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ । बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजङ्गा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताउनुभयो ।
सिरिजङ्घा गाउँपालिकामा ४२ वटा विद्यालय छन् । त्यस्तै सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय छन् ।
सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार ३९ विद्यालयमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत रहेका छन् ।
बाढी पहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको उहाँले बताउनुभयो । आउँदो साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ ।
निरन्तर वर्षा र बाढीपहिरोले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेले गाउँमा गएको शनिवार राति गएको बाढीपहिरोले बगाएको चार जनामध्ये एकै घर परिवारका तीन जना अझै बेपत्ता रहेका छन् ।
ताप्लेजुङमा बाढी पहिरोमा परेर तीन जनाको ज्यान गएको छ ।