काठमाडौं- काठमाडौं महानगरपालिकाको आ. व. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। आज(शुक्रबार) राष्ट्रिय सभा गृहमा बसेको १३ औँ अधिवेशनको दोस्रो बैठकमा छलफलपछि नीति तथा कार्यक्रम पारित भएको हो।
अधिवेशनको पहिलो बैठकमा महानगरपालिकाका प्रमुख बालेन शाहले चालू आर्थिक वर्षका कार्यक्रमलाई ५२ बुँदामा समीक्षा गर्दै आगामी वर्षका लागि ११ बुँदामा नीति र १२५ बुँदामा कार्यनीति पेस गरेका थिए।
‘सांस्कृतिक सहर, समृद्ध महानगर’ महानगरपालिकाको दीर्घकालीन सोच हो, यसमा आधारित रहेर सहरी विकास, सुरक्षा र व्यवस्थालाई नीति तथा कार्यनीतिमा समेटिएको छ,’उनले भने।
एक वडा एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित महानगर, सुलभ फार्मेसी, स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना र सञ्चालन, कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना, अर्गानिक खाद्य तथा तरकारीमा आत्म निर्भर बनाउन सहयोग, सबै सडक कालोपत्रे गर्ने, खाल्डाखुल्डीरहित बनाउने, कम्तीमा १ लाख विरुवा रोप्ने कार्यक्रम नीतिमा समेटिएको उनले बताए।
वन स्टप सर्भिस सेन्टरमा आधारित यातायात प्रणाली सञ्चालन गर्ने, परम्परागत खाद्य तथा पेय पदार्थको ब्रान्डिङ गरेर निर्यात गर्ने, अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्षभित्र निर्माण सम्पन्न हुने १० वटा महानगर गौरवका योजना सञ्चालन गर्ने, सहरी सेवा, सुविधा र सहरी शासनका सवाललाई दिगो बनाउन महानगर स्वर्णिम योजना सञ्चालन गर्ने लगायत नीतिका मुख्य विषय महानगरको छ।