काठमाडौँ- विगत लामो समयदेखि विभिन्न भन्सार कार्यालयहरूमा भन्सार महसुल र भन्सार राजश्व सङ्कलनको काम गर्दै आएका भन्सार एजेन्टहरूले सरकारले रोजगारी खोसेको भन्दै आन्दोलनको घोषणा गरेका छन् ।
भन्सार एजेन्ट प्रतिनिधि सङ्घ नेपालले एक विज्ञप्ति जारी गर्दै आफूहरूको राज्यले उचित व्यवस्थापन गर्नु पर्नेमा भन्सार प्रतिनिधिले काम गर्न व्यवस्था नै खारेज गरेकोमा आपत्ति जनाएको छ । सरकारको निर्णयले देशभर कार्यरत तीन सयभन्दा बढी भन्सार प्रतिनिधिहरू गत जेठ १५ गतेदेखि बेरोजगार भएकोले सरकारलाई दबाब दिन अन्दोलनमा उत्रिनु परेको सङ्घका अध्यक्ष उमेश अधिकारीले बताए ।
भन्सार प्रतिनिधिहरूले पटक पटक भन्सार विभाग,अर्थ मन्त्रालयलाई ध्यानाकर्षण बुझाउँदा पनि सुनुवाइ नभएकोले आन्दोलनमा जानु परेको बताएका छन् । आन्दोलनको कार्यक्रमलाई सफल बनाउन भन्सार प्रतिनिधि खड्ग बहादुर कार्की संयोजक रहने गरी ९ सदस्सीय सङ्घर्ष समिति समेत गठन भएको समेत सङ्घका अध्यक्ष अधिकारीले जानकारी दिए ।