रौतहट- रौतहट प्रहरीले बाढीमा फसेका पाँच जनाको उद्धार गरेको छ। बागमती नदीमा अचानक बाढी आएपछि गोठाला गएका पाँच जनाबाढीमा फसेकाहरुको सुरक्षाकर्मीहरूले सुरक्षित रुपमा उद्धार गरेको हो।
रौतहटको राजदेवी नगरपालिका–३ चन्डिहा गाउँबाट भैंसी लिएर बागमती नदीको बगरमा गोठालो गएका पाँच जना अचानक बागमती नदीमा बाढी आएपछि फसेको प्रहरीलाई राति १० बजे जानकारी आएको थियो।
तत्कालै प्रहरी टोलीको उद्धार टोलीले तीन जनालाई शुक्रबार राति १२ बजे उद्धार गरिएको तथा दुई जनालाई आज बिहान उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बिहानै गोठालो गएकाहरूलाई पहाडमा पानी परेको थाहै भएन। साँझ पख घर फर्किन खोज्दा अचानक खोलामा पानीको बहाव बढेपछि ५० वर्षीया रामपति देवी, ३० वर्षीया ललिता देवी र सर्लाही बलरा जमुनियाका ६० वर्षीय किसन सहनीलाई गएराति १२ बजेको समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सुरक्षित रुपमा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए।
भैंसीसहित रहेका दुई जना राति आउन नमानेपछि आज बिहान डुंगासहितको टोली गएर राजदेवी ३ चण्डिहाका ६० वर्षीय विलास साह र ४० वर्षीय करणशिला साहसहित पशुचौपायालाई उद्धार गरेर सुरक्षित स्थानमा ल्याइएको यादवले बताए।