काठमाडौं- गत मंगलबार आफ्नै घरमा मृत फेला परेका गायक तथा अभिनेता रविन तामाङको आज अन्त्येष्टि गरिँदै छ ।
तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने रविनको व्यवस्थापन समूहका आशिष पराजुलीले जानकारी दिए । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि रविनको पार्थिव शरीरलाई आज बिहान नक्शालस्थित संगीत तथा नाट्य एकेडेमी नक्शालमा राखिने छ ।
रविनका दुई छोरीहरु छन् । उनीहरु फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लागेकाले आज अन्त्येष्टि गर्न लागिएको हो । मंगलबार बेलुका तामाङ बुढानीलकण्ठ चिसेनीस्थित निवासमा मृत भेटिएका थिए । प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु मुटुको समस्याले भएको हुन सक्ने जनाइएको छ।
रविन एण्ड द न्यु रिभोलुसनका गायक समेत रहेका ६० वर्षीय तामाङले पछिल्लो समय फिल्ममा समेत अभिनय गर्दै आएका थिए ।
नेपाली रक गायनलाई समाजसँग जोड्ने मामिलामा उनको योगदान महत्वपूर्ण मानिन्छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.