काठमाडौँ- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका–६ माछाचोकमा ना. २६ प ८३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८८ वर्षीया गैमाया गुरुङको गएराति मृत्यु भएको छ । गत बिहीबार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ।
त्यस्तै नुवाकोटको ककनी गाउँपालिका–१ सिमटारमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुषको गएराति घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ।
सुनसरीको रामधुनि नगरपालिका–१ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३७ वर्षीया महिलाको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ। सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।