काठमाडौँ- नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकलाई बाँच्न पुग्ने गरी ज्याला बढाउनुपर्ने माग गर्दै प्रदर्शन गरेको छ।
आइतवार काठमाडौँको माइतीघरमा भेला भई सत्तारुढ दल नेपाली काँग्रेसको संगठन नेपाल ट्रेड युनियन काँग्रेसले दबाबमूलक प्रदर्शन गरेको हो। हरेक दुई वर्षमा श्रमिकहरूको पारिश्रमिक बढाइने र सोहीअनुसार काम अहिले अघि बढे पनि सरकारलाई खबरदारी गर्न दबाबमूलक कार्यक्रम गरेको नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए।
उनले यो कार्यक्रममा एक हप्तायता निरन्तर चलिरहेको बताए। उनले सरकारलाई श्रमिकहरूको न्यूनतम पारिश्रमिक कम्तीमा २५ हजार बनाउन स्थानीय तह र प्रदेश सरकारमा ज्ञापनपत्र बुझाइसकिएको र आज केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउने बताए।
उनले भने, ‘२ वर्षमा पारिश्रमिक बढ्नुपर्ने हो। सरकार र रोजगारदाताको ध्यानाकर्षण गराउन बाँच्न पुग्ने ज्याला निर्धारण गर्न यो दबाब कार्यक्रम अघि बढाएका हौँ। हाम्रो यो कार्यक्रम हप्ताभर चलिरहेको छ। जिल्ला र प्रदेश स्तरमा बुझाएका छौँ, अब केन्द्रमा बुझाउनेछौँ। हामीले कम्तिमा २५ हजार रुपैयाँ पाउनुपर्छ भन्ने माग हो।’
उनीहरूले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार कायम गर, श्रम आयोग गठन गर, नीति, निर्माण तहमा श्रमिकको प्रतिनिधित्व व्यवस्था गर, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर, स्थानीय तहमा श्रमिकको पञ्जीकरण गर लगायतका प्लेकार्ड, ब्यानरसहित नारा लगाएर सरकारलाई दबाब दिएका थिए।