काठमाडौं- ६ जिल्लामा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१० स्थित मोडमा ना.६ ख ८८९० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–१० बस्ने ६३ वर्षीय लाल बहादुर घिसिङको सोमबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई हेटौंडा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका–२३ चुरियामाईस्थित सडकमा प्र.२–०३–०१२ प ८८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ बस्ने ३५ वर्षीय शंकर तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा सरकारी अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
नवलपरासी (पूर्व), कावासोती नगरपालिका–१ बालुवाडाँडास्थित सडकमा लु.४ त ३६३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २३ वर्षीय किरण हितङ मगरको घटनास्थलमा नै मृत्यु भएको छ।
पर्वत, पैंयु गाउँपालिका–४ सानोस्वामीस्थित सडकमा ग.१ ज ७९७३ नम्बरको जिपबाट खसेर सोही गाउँपालिका–६ काहुँ बस्ने ३० वर्षीया बसन्ती थापाको सोमबार दिउँसो मृत्यु भएको छ। जिपबाट खसेर गम्भीर घाइते भएकी उनको स्वास्थ्य चौकी हुवास हुँदै स्वास्थ्य चौकी वालिङ स्याङ्जामा थप उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कैलाली, धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २१ वर्षीय राजु चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको निसर्ग अस्पतामा उपचार भइरहेको छ।
बैतडी, दशरथचन्द नगरपालिका गोठलापानी सेरास्थित सडकमा सु.प्र.०१००२ त ६३८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा चालक कैलाली फुलबारी बस्ने २८ वर्षीय सुलेन चौधरीको घटनास्थलमै मृत्यु भएको छ।