भक्तपुर- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली संकलन र अद्यावधिक, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजनबारे तयारी भइरहेको बताएका छन्।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मंगलबार आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्य’ विषयक अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग ऐन, २०७३ संशोधन गरी सो व्यवस्था गर्न लागिएको बताए।
‘निर्वाचन आयोग ऐन–२०७३ संशोधनको क्रममा रहेको छ । स्थानीय तहको सहमतिमा मात्र यो ऐन संशोधन गरी मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्ने तयारी छ’, उनले भने।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मतदाता नामावली संकलन र मतदानस्थल व्यवस्थापनलगायत अधिकार स्थानीय तहलाई दिनु स्वागतयोग्य भएको बताए। उनले जनप्रतिनिधि र सम्बन्धित पदाधिकारीका लागि निर्वाचनसम्बन्धी तालिम सञ्चालन गर्न सुझाव दिए। निर्वाचन आयोग स्वायत्त र स्वतन्त्र ढङ्गले अगाडि बढ्नुपर्ने धारणा राख्दै प्रमुख प्रजापतिले निर्वाचन आयोग नियन्त्रित हिसाबले सञ्चालन हुन नहुने र आयोगको कार्य सञ्चालनका लागि पर्याप्त बजेट छुट्याउनुपर्ने बताए।