काठमाडौँ- राजस्व अनुसन्धान विभागले रेडी ट्रेडको सोह्रखुट्टे गोदामबाट हिजो बरामद गरेको ६६ वटा कार्टुन अधिकांश खोलेको अवस्थामा भेटिएको छ।
बरामद भएका कार्टुनमध्ये एक दर्जनबाहेक सबै खोलेको फेला परेको विभाग स्रोतले जानकारी दिएको छ। विभागले रेडी ट्रेडले सुन भित्र्याउने क्रममा ती सामान ल्याएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएको छ।
कार्टुनमा रहेको सामानहरूको साइज, प्याकिङ, डिजाइन सबै गत २ गते बरामद गरिएको सुनको ब्रेक शुुजस्तै देखिएको छ। तर सुन भए नभएको बारे भने यकिन नभएको विभागले जनाएको छ। रेडी ट्रेडको नाममा आएका सामान सबै शंकास्पद देखिएपछि विभागले थप विस्तृत अनुसन्धान गरिरहेको छ।
त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयबाट यही साउन ३ गते एक क्विन्टल सुन बरामद भएको घटनाको छानबिनका क्रममा एक चिनियाँ, एक भारतीयसहित भन्सार कर्मचारी एजेन्टलगायतका १७ जना पक्राउ परिसकेका छन्। सुन रेडी ट्रेडकै नाममा आएको थियो।
उनीहरुमाथि अनुसन्धानका लागि विभागले ९० दिनको समय पाउने छ। बरामद ब्रेक शु सहित १५५ केजी सुन भने राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ।
यस्तै हिजो बैंक ठगी, सेयर घोटाला र हुन्डीमा विवादित व्यापारी राजेशकुमार अडुकियाको घरमा विभागले छापा मारेको थियो। सोही क्रममा बरामद गरिएको केही कार्टुनमा सुन जोख्न प्रयोग गर्ने मेसिनसहित सुनका गहना बनाउन प्रयोग हुने साँचो जस्तो देखिने धातु पनि भेटिएको स्रोतले बताएको छ। आयात गरेको सुनलाई गहनाका रूपमा दिएर अन्यत्र लैजाने प्रयोजनका लागि यो साँचो ल्याइएको अनुमान छ।