काठमाण्डौ- नेपाल प्रहरीले काठमाण्डौको नयाँ बसपार्कमा यात्रुको झोला जथाभाबी तानेर यात्रुलाई दुःख दिने १० जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोङ्गबुमा रहेको नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल अधिकारीले विभिन्न ठाउँबाट काठमाण्डौ आएका यात्रुलाई जबरजस्ती झोला तानेर हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीले शनिवार हिजो मात्र नयाँबसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये चारजना होटल सञ्चालक रहेका छन् । शुरुको समयमा सम्झाइबुझाइ गरेर छाडेका छौँ, घटना दोहोरिएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ उहाँले भन्नुभयो । यो अभियानलाई निरन्तरता दिने उहाँको भनाइ छ ।
नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष गणेश ढकालले होटल व्यवसायी सङ्घ र नेपाल प्रहरीको संयुक्त टोलीले यात्रुलाई हैरानी दिनेलाई कारबाहीका लागि अभियान सञ्चालन गरेको बताउनुभयो । यात्रुलाई दुःख तथा हैरानी दिने जो–कोहीलाई कारबाही हुनुपर्ने उहाँको भनाइ छ ।
यात्रुले शुरुमै आफ्नो गन्तव्यस्थल पहिचान गरी काठमाण्डौ आएका हुन्छन्, उनीहरूलाई बसपार्कमा गएर जथाभाबी झोला तान्ने तथा दुःख हैरानी दिने काम गर्नु हुँदैन, यात्रु पनि कुनै किसिमको प्रलोभनमा पर्नुहुँदैन, उहाँले भन्नुभयो ।
सङ्घले पछिल्लो समय होटल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न तथा व्यवस्थितरूपमा होटल सञ्चालन गर्नका लागि होटलमा अनिवार्यरूपमा ‘सिसी क्यामेरा’ जडान गर्ने कामलाई समेत अगाडि बढाएको छ ।