काठमाण्डौ- सरकारले देशभर फैलिएको लम्पी स्किन रोगका कारण पीडित भएका किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न कृषि मन्त्रालयलाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले लम्पी स्किनको बारेमा कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गर्दै आउनुभएको छ ।
छलफलबाट किसानलाई राहत दिने निर्णयको अन्तिम प्रक्रियामा रहेको कृषि मन्त्रालयले जनाएको छ । पीडित किसानलाई राहतका साथै अहिले निःशुल्क रुपमा गोटपक्स भ्याक्सिन सङ्घ, प्रदेश र पालिकाले उपलब्ध गराउने गरी तयारी छ ।
लम्पी स्किनले महामारीको रूप लिँदा पनि सरकारले प्रभावकारी कदम नचालेको भन्दै किसानले आन्दोलन गर्दै आएका छन् । उनीहरुले लम्पी स्किनलाई महामारी घोषणा गर्न र क्षतिपूर्ति दिन पनि माग गर्दै आएका छन् ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार अहिले देशभर ११ लाखभन्दा धेरै पशुचौपाया लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । तीमध्ये आठ लाख ६७ हजार पशु चौपाया निको भैसकेका छन् । बितेका पाँच महिनामा झण्डै ५० हजार पशुचौपाया मरेका छन् । अहिले पनि झण्डै दुई लाखको सङ्ख्यामा पशु चौपाया सक्रिय सङ्क्रमित रहेका छन् ।
मरेका र सङ्क्रमित गरी पशु चौपायामा ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । यो रोगबाट गोरु सङ्क्रमित हुँदा कतिपय जिल्लामा धान रोपाइँसमेत प्रभावित भयो । त्यस्तै, दूध उत्पादनमा समेत असर परेको छ । पशु सेवा विभागका अनुसार ३ लाख ५० हजारभन्दा धेरै पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा हिजो मुख्य सचिव बैकुण्ठ अर्यालले लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन समेत दिनुभएको छ ।