काठमाडौं- सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन्। बुधबार सम्बन्धित सरोकारवालासँग निर्माणधीन संसद् भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताएका हुन्।
उनले आफूले केही महिनाअघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको पाएको तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भए पनि भौतिक प्रगति उल्लेख्य हुन नसकेको बताए।
सभामुख घिमिरेले अहिले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको बताए। उनले निर्माणको भुक्तानी बढ्दै जाँदा भौतिक प्रगति भने राम्रो नभएको जिकिर गरे।
अहिले सरकारले निर्माण भुक्तानी दिन गाह्रो भएको भन्दै उनले ठेकेदारहरूले नापेर निर्माणका काम गरिरहेको बताए। उनले निर्माणाधीन भवनका लागि भने भुक्तानी दिन कठिनाइ नरहेको बताए।
उनले भने, ‘योभन्दा अगाडि त्यहाँ भ्रमण गर्दा ६३ प्रतिशत जति भौतिक संरचनाको प्रगति र ५६ प्रतिशत आर्थिक प्रगति भन्ने कि खर्च भन्ने त्यो भएको थियो। अहिले मोटामोटी ६६ प्रतिशत भौतिक प्रगति र ६३ प्रतिशत जति आर्थिक प्रगति भन्ने पाइयो। हिजो पैसा खर्च गर्न नसकिएको र अहिले यही आर्थिक वर्षलाई लिँदा ९० प्रतिशत भौतिक प्रगति भएको र ८८ प्रतिशत आर्थिक प्रगति भएको भनेपछि पेमेण्ट बढ्दै गयो, तर भौतिक प्रगति कमजोर देखिएको छ। हिउँदे अधिवेशनको काम यहाँबाट हुन्छ जस्तो लागेन। कामको स्पिड धेरै गएको छैन।'
सभामुख घिमिरेले हिउँदे अधिवेशन निर्माणाधीन संसद भवनबाट सञ्चालन गर्नेगरी काम गर्न निर्देशन दिए पनि अहिलेसम्मको प्रगतिले हिउँदे अधिवेशन सञ्चालन गर्न नसकिने स्पष्ट रहेको बताए।