काठमाडौं-विद्युत उत्पादन कम्पनी (भीयूसीएलको) प्रमुम कार्यकारी अधिकृत (सीईओ)मा बखतबहादुर शाही नियुक्त भएका छन् । भीयूसीएलको बिहीबार विहान बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा दैलाखका शाहीलाई नियुक्त गरेको हो ।
उनको नियक्तिसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरण, लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले नियुक्तिका लागि गरेको प्रयास असफल भएको छ । छनोट समितिका एक सदस्यका अनुसार विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवि चटौत नेतृत्वको छनोट समितिले गरेको सिफारिसका आधारमा शाही नै नियुक्त भएका हुन् ।
‘पोखरेललाई नियुक्त गर्न दबाब त थियो, अन्तरवार्ता, कार्ययोजना प्रस्तुतिमा पनि उहाँ कमजोर देखिनुभयो,'ती सदस्यले भने,‘जलविद्युत विकास तथा लगानी कम्पनी (एचआईडीसीएल)मा पनि काम गरेकाले उहाँले आफू बढी योग्य दाबी गर्नुभएको थियो, तर उहाँको विवादास्पद छवीका कारण समेत समस्या भयो ।’ शाही र पोखरेलसँगै देवेन्द्र केसी, नरेन्द्रसिंह भण्डारी, रणबहादुर थापा र राजु श्रेष्ठ अन्तिम प्रतिस्पर्धामा थिए ।
अब शाहीले सीईओको रुपमा काम गर्नेछन् । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भीयूसीएल अन्तर्गतको फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसीको नेतृत्वमा बनाउने सहमति भइसकेको छ । त्यसबाहेक ठूला क्षमताका किमाथांङ्का अरुण, मुगु कर्णाली, जगदुल्ला र नलगाढ जलविद्युत परियोजना भीयूसीएल अन्तर्गत नै विकास गर्न खोजिएको छ । यस्ता आयोजना निर्माणका लागि विदेशी कम्पनीको खोजी भइरहेकाले भीयूसीएलको सीईओ पद हात पार्न विगतदेखि नै स्वार्थ समूहहरुले प्रयास गर्दै आएका छन् ।