काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिँदैछ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चार दिनदेखि जारी बैठक आज सक्ने माओवादीको तयारी छ। साउन १७ गते सुरु भएको बैठक आजसम्मका लागि तय गरिएको छ।
बैठकमा पदाधिकारी र स्थायी समिती सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेनमाथि धारणा राख्ने क्रम चल्नेछ। बोल्न धेरै जना बाँकी भए पनि आजदेखि प्रज्ञा भवन खाली गर्नुपर्ने भएकोले बैठक सकाउने तयारी रहेको स्थायी समिती सदस्य हितबहादुर तामाङले जानकारी दिए। पदाधिकारीले बोलिसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिएर बैठक समापन गर्ने तयारी छ।
बैठकमा नेताहरूको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरूमाथि प्रश्न उठेको छ। यस्तै बैठकमा नेताहरुले पार्टी अध्यक्ष दाहालको भूमिकामाथि प्रश्न उठाएका छन्। चौथो दिन धारणा राखेका प्रभावशाली नेताहरुले दाहालको भूमिकामाथि प्रश्न उठाएका थिए। उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले अध्यक्ष दाहालको अभियान र कामलाई साथ दिए पनि असहयोग गरेको ठानिएको भन्दै असन्तुष्टि जनाएका छन्।
शनिबारको बैठकमा उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महरा, सचिवहरु जर्नादन शर्मा, वर्षमान पुनलगायतका नेताले धारणा राखेका थिए। आफूहरुमाथि सुनकाण्डमा जोडेर आएको विषयमा महरा र पुनले छानबिन गर्न माग गरेका छन्। सरकारले भ्रष्टाचार, सुन प्रकरण लगायत विषयमा थालेको अनुसन्धान कार्यलाई सहयोग गर्न तयार रहेको भन्दै उनिहरुले दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार रहेको बैठकमा प्रस्टीकरण दिएका हुन्।
केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेकाले बैठक लम्ब्याउने वा आजै सक्नेबारे आजको केन्द्रीय समिति बैठक अघि बस्ने पदाधिकारी बैठकले निणर्य गर्ने नेताहरुले बताएका छन्।
शनिबारसम्म दुई सय २१ जना नेताहरुले आफ्नो धारणा राखेका छन्। आज दिउँसो १ बजेसम्म बाँकी सदस्यहरुलाई बोल्नका लागि समय दिने र त्यसपछि अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम तय भएको माओवादीले जनाएको छ।
अध्यक्ष दाहालले जवाफ दिएपछि आजै बैठक सक्ने तयारी गरिएको छ। समय अभावका कारण बैठकमा बोल्न नभ्याएका केन्द्रीय सदस्यहरुको धारणा लिखितरुपमा लिने जनाइएको छ।