काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा आइतबार जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले संसदको गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टी व्यक्त गरेका हुन् ।
उनीहरुले संसद बैठकनै बस्न नदिने काम गरिरहेको भन्दै एमालेको पनि आलोचना गरेका थिए । संसदको भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो । संसद बैठकनै बस्न नसक्ने अवस्था सृजना गरेर एमालेले बेठिक गरेको कुरा बैठकमा नेताहरुले राखेको उहाँले बताउनुभयो ।
शनिबारबाट सुरु भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न १० औं महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भईरहेको छ । एकीकृत समाजवादीले पार्टीको आसन्न १० औं महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यस अघि पार्टीको सचिवालय बैठक बोलाएको थियो । उपमहासचिव तुलाधरका अनुसार अब भदौं पहिलो साता बस्ने पोलिटव्युरो र केन्द्रिय समिति बैठकले त्यसबारे ठोस योजना तय गर्ने छ ।