लामो समयको सुख्खाका कारण प्रभावित इरान र अफगानिस्तानबीच हेलमण्ड नदीको पानी बाँडफाँडलाई लिएर विवाद चर्किएको छ। सीमाबाट बग्ने हेलमण्ड नदीको पानी बाँडफाँड न्यायिक नभएको भन्दै तालिबान सरकारले नदीको बाँधमा आफ्ना लडाकु परिचालन गरेपछि दुई देशबीच द्वन्द्व चर्किएको हो।
इरानले सबै पानी अफगानिस्तानले लगेर आफ्नो भागमा ४ प्रतिशत पानीमात्रै छोडेको र नहर सुख्खा भइसकेको बताएको छ । इरानी राष्ट्रपति इब्राहिम रईसीले गत मे महिनामा तालिबान सरकारलाई पानी सम्बन्धी सम्झौता सम्मान नगरे खराब परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। त्यसको एक हप्तामै तालिबानले सीमा क्षेत्रमा गोली चलाएको थियो, जसमा दुई इरानी गार्ड तथा एक तालिबानी लडाकुको मृत्यु भएको थियो।
यो घटनापछि तनावग्रस्त हेलमण्डको पानी बाँडफाँड हुने बाँधमा तालिबानले हजारौँ सैनिकसहित आत्मघाती आक्रमणकारी परिचालन गरेको इरानको आरोप छ। इरान र अफगानिस्तानबीच हेलमण्ड नदीको पानी बाँडफाँडका लागि सन् १९७३ मा सम्झौता भएको थियो। दुवै पक्षले सम्झौता पालना नगरेको आरोप एक–अर्कालाई लगाउँदै आएका छन्।