काठमाण्डौ- जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा ट्राफिक व्यवस्थापनका लागि भन्दै खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
हिजो मङ्गलवार नारायणगढ–मुग्लिन सडक खण्डको काली खोलामा पहिरो गएपछि भएको ट्राफिक समस्या व्यवस्थापनका लागि भन्दै ज्याकेटमा ‘आरएटी लेखेर रास्वपाका कार्यकर्ता पनि परिचालन भएका थिए । रास्वपा कार्यकर्ताले वाकिटकी पनि बोकेका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निकाल्नुभएको सूचनामा ‘सञ्चारको साधन वाकिटकीसमेत देखिएकोमा त्यसको स्वीकृत र दर्तावाला हो/होइन छानबिन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको’ उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले विपद्का घटनामा राजनीतिक दलको परिचयविना स्वयंसेवकका रूपमा उद्धारमा सहयोग गर्न आग्रह पनि गरेको छ ।
रास्वपा पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा निर्वाचित भएको एक सय दिनमा यहाँ आयोजना गरिएको कार्यक्रममा जनहितका लागि कार्यक्रम घोषणा गरिएको बताउनुभएको थियो । त्यही कार्यक्रमअन्तर्गत आरएटी परिचालन गरिएको थियो । त्यही दिन मोबाइल क्लिनिकमा प्रयोग भएको एम्बुलेन्स विवादमा परेपछि परिवर्तन गरिएको थियो ।