काठमाडौँ- फिफा महिला विश्वकप २०२३ को क्वाटरफाइनल खेल भोलि शुक्रवारदेखि शुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको नवौँ संस्करणको प्रतियोगितामा आयोजक अस्ट्रेलियासहित स्विडेन, जापान, स्पेन, नेदरल्यान्ड्स, फ्रान्स, इङ्ग्ल्यान्ड र कोलम्बिया क्वाटरफाइनलमा पुगेका छन् ।
यसपालिको प्रतियोगितामा ४ पटकको च्याम्पियन अमेरिका, २ पटकको च्याम्पियन जर्मनी, ओलम्पिकमा स्वर्ण पदक विजेता क्यानडा र छैटौँ पटक विश्वकप खेलिरहेको ब्राजिल फिफा महिला विश्वकपको क्वाटरफाइनलमा नपुग्दै बाहिरिएका छन् । यसपालिको क्वाटरफाइनलमा जापानमात्र एक यस्तो टिम छ जसले पहिले पनि विश्व च्याम्पियन बन्ने अवसर पाएको छ । जापान् सन् २०११ को च्याम्पियन जापान हो । यो संस्करणमा जापान क्वाटरफाइनलमा पुग्ने एकमात्र एसियाली टिम हो । यस्तै स्पेन र कोलम्बियाले पहिलो पटक विश्वकपको अन्तिम–८ मा स्थान बनाएका छन् । यस्तोमा यसपालि महिला विश्वकपले नयाँ च्याम्पियन पाउन सक्ने सम्भावना बढी छ ।
क्वाटरफाइनलमा पुग्ने स्विडेन एकमात्र यस्तो टिम हो जसले सबै संस्करणमा भाग लिएको छ, साथै ३ पटक सेमिफाइनलमा स्थान बनाएको छ ।क्वाटरफाइनलको पहिलो खेलमा भोलि बिहान पौने ७ बजे स्पेन र नेदरल्यान्ड्सबीच खेल हुनेछ । भोलि नै दोस्रो खेलमा दिउँसो सवा १ बजे जापान र स्विडेन खेल्नेछन् ।
यस्तै पर्सि शनिवार पहिलो खेलमा दिउँसो पौने १ बजे अस्ट्रेलिया र फ्रान्सबीच खेल हुनेछ । त्यही दिन दोस्रो खेलमा सवा ४ बजे इङ्ग्ल्यान्ड र कोलम्बियाबीच खेल हुनेछ ।फाइनल खेल अगस्ट २० मा स्टेडियम अस्ट्रेलियामा हुनेछ ।