चितवन- चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ। कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार ३० जनामा आँखा पाक्ने समस्या देखिएको हो।
क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलिने डर छ। चार दिनअघि देखिएको संक्रमण क्रमशः फैलिँदै गएको पौडेलले जानकारी दिए।
सङ्क्रमितलाई छुट्टै कोठामा राखिएको छ। उनीहरूलाई आवश्यक औषधिको व्यवस्था गरिएको पौडेलले जानकारी दिए। छिटो रोग फैलने भएकाले अरुलाई सर्नबाट रोक्न सकेसम्मको प्रयास गरिएको उनले बताए।
कारागारको क्षमता २५५ पुरुष र २५ महिलाको रहेको छ। हाल कारागारमा ७१३ पुरुष र ४७ महिला कैदीबन्दी छन्। यसैगरी आश्रित पाँच बालबालिका रहेको प्रमुख पौडेलले जानकारी दिए।
जिल्लामा आँखा पाक्ने समस्या निकै बढेको छ। भरतपुर आँखा अस्पतालमा बिरामीको सङ्ख्या झन्डै दोब्बर पुगेको छ। बिरामी बढेपछि सहजरूपमा औषधि पाउनसमेत कठिन भएको अस्पतालले जनाएको छ।
शिक्षण संस्था बन्द छन्। भीडभाडमा नहिँड्न र आँखा पाकेका बिरामीले सावधानी अपनाउन अनुरोध गरिएको छ।