काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले ३ सय ३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन बीटीएस अर्थात् मोबाइल टावरहरु जडान गरेको छ । यी टावरहरु गएको आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएका हुन् ।
हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँहरूमा पहिलो पटक सेवा विस्तार गरिएको एनसेलले जनाएको छ । पहिलो पटक फोरजी सेवा विस्तार गरिएका नयाँ ठाउँहरुमा उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गाा गाउँपालिका (खोटाङ) का ग्रामीण इलाक र इनरुवा नगरपालिकाका नयाँ ठाउँ रहेका छन् ।
गएको आवमा नै एनसेलले आफूले प्रदान गर्दै आएको सेवाको गुणस्तर सुधार र ग्राहकको सेवा अनुभव अभिवृद्धि गर्न २ सय ८३ नयाँ टावरहरु गरेको छ । यी मोबाइल टावरहरु सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएको कम्पनीले जनाएको छ । लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, मधेस प्रदेशका विभिन्न ठाउँमा टावर राखिएको छ ।
एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गएको आवमा विभिन्न ६० जिल्लाका झण्डै १ हजार ४५० मोबाइल टावरहरुको स्तरोन्नति पनि गरेको छ । यसरी स्तरोन्नति गरिएका टावहरुहरुमध्ये ७ सय ८० भन्दा बढी विभिन्न नगरपालिकामा स्थापना गरिएका टावरहरु पर्दछन् । त्यसैगरी गाउँपालिकास्तरमा जडित ४ सय ४० वटाभन्दा बढी टावरहरुको स्तरोन्नति गरिएको एनसेलले जनाएको छ । यसबाहेक, एनसेलले देशका विभिन्न महानगरपालिका र उप–महानगरपालिकामा रहेका आफ्ना टावहरुको स्तरोन्नति गर्दै फोरजीको क्षमता अभिवृद्धि गरिरहेको छ ।
ग्राहकहरुलाई फोरजी अन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभरी एनसेलको ४ हजारभन्दा बढी फोरजी टावरहरु सञ्चालनमा रहेका छन् । फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकाङ्क्षाहरू पूरा गर्न योगदान पुर्याउने कम्पनीको विश्वास छ ।