काठमाडौं- वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखाको गण्डकी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगर, सुनसरीको रामधुनी नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ४० वर्षीय सन्दिप कुमार चौधरी र धादिङको थाक्रे गाउँपालिका–४ घर भई काठमाडौं कलंकी बस्ने ४५ वर्षीय सालिक राम अर्याल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मगरलाई काठमाडौंको नयाँ बसपार्कबाट बुधबार, चौधरीलाई काठमाडौंको नयाँ बानेश्वरबाट बिहीबार तथा अर्याललाई काठमाडौंको टोखा नगरपालिका–७ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूमध्ये मगरले १ जनालाई पोर्चुगल पठाई कृषि कम्पनीमा मासिक १ लाख ३० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटक(पटक २ लाख ५६ हजार रूपैयाँ ठगी गरेको पाइएको छ ।
यस्तै चौधरीले १ जनालाई फ्रान्स पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक(पटक गरी २ लाख ५५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
यसैगरी अर्यालले १ जनालाई क्रोसिया पठाई फुड डेलिभरीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीको आरोप छ ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।