अर्घाखाँची- बाँदर धपाउन बोकेको भरुवा बन्दुक पड्केर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका– ७ मा आफैंले बोकेको भरुवा बन्दुक पड्किएर नुवाकोट पानडाँडाका ४५ वर्षीय पदम केसीको मृत्यु भएको हो ।
आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान पदम घरमा राखेको बन्दुक बोकेर बाँदर धपाउन हिंडेका थिए ।
उनी बारीमा चिप्लिएपछि एकनाले बन्दुक आफैं पड्किएको र गोली उनको कोखामा लागेर छातीबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते भएका केसीको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.