काठमाडौँ- नेपाल प्रहरीले ५२ लाख ७५ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित नौ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौले हिजो पत्रकार सम्मेलन गरी काठमाण्डौ र भक्तपुरका विभिन्न ठाउँबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोटसहित नौ जनालाई पक्राउ परेका जानकारी दिएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेका छन् ।
पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले बिहीवार लु १ प ५ नम्बरको पर्यटक बसलाई नागढुङ्गामा जाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएको अवस्थामा नक्कली नोट फेला परेको जानकारी दिनुभयो ।
बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार नक्कली नोट बरामद गरेका हौँ, एसएसपी कार्कीले भन्नुभयो ।
कारोबारीले भक्तपुरको चाँगुनारायणमा कारखाना नै सञ्चालन गरेर नक्कली नोट उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुलको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई मुद्रा कसुरअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको परिसर प्रमुख कार्कीले बताउनुभयो ।