पर्वत- पर्वत जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटमा बाँदरको आक्रमणमा परेर एक वृद्ध घाइते भएका छन्।स्थानीय सन्तोष पौडेलका अनुसार शुक्रवार मोटरसाइकलको पछाडि बसेर यात्रा गरिरहेका सोही ठाउँका लेखनाथ पौडेललाई बाँदरले आक्रमण गरेको हो।
स्थानीय लक्ष्मीकान्त सुवेदीको मोटरसाइकलमा बसी सदरमुकाम कुश्मा आउने क्रममा स्थानीय कालिका माध्यमिक विद्यालय नजिकै पौडेललाई बाँदरले आक्रमण गरेको थियो।
गुडिरहेको मोटरसाइकललाई पछ्याउँदै आएको बाँदरले पौडेलको खुट्टामा टोकेर घाइते बनाएको हो। यसअघि पनि सोही ठाउँमा बाँदरले मोटरसाइकलको आवाज आएपछि लखेट्ने गरेको लेखनाथका छिमेकी सन्तोषले बताए। यसअघि आक्रमण गरेर व्यक्तिलाई घाइते नबनाएको भए पनि यस पटक भने आक्रमण गरेर घाइते नै बनाएको हो। घाइते लेखनाथको स्वास्थ्य संस्थामा लगेर उपचार गरेपछि थप असर भने नदेखिएको उनले बताए।
‘यसअघि पनि मोटरसाइकलमा यात्रा गर्नेहरूलाई बाँदरले पटक–पटक लखेट्दै आएको छ। मोटरसाइकल लखेटे पनि मान्छेलाई आक्रमण गरेर घाइते नै बनाएको भने थिएन’ सन्तोष भन्छन्, ‘सवारी साधनलाई आक्रमण गर्न खोज्दा लुकिङ ग्लास हेरेर हिँड्ने र देखे पछाडि फर्केर चिच्याउने या रोक्ने गर्दा भाग्ने गरेको थियो। विशेष गरी मोटरसाइकलमा यात्रा गरेको देख्दा बाँदरले लखेट्ने गरेको छ।’
खुर्कोट क्षेत्रमा बाक्लो वन र जंगल लगत्तै बस्ती रहेको छ। त्यो क्षेत्रमा बेला–बेलामा वन्यजन्तुले आक्रमण गर्ने घटनाहरू हुँदै आइरहेका छन्। केही वर्ष अगाडि बाघको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको थियो। त्यसको केही वर्षपछि स्थानीय एक पुरुषलाई आक्रमण गरेर घाइते बनाएको थियो।