काठमाडौं- नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन्।
युरोप भ्रमण छोट्याएर फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले आफूले कुनै बदमासी नगरेको र भाग्ने खालको मान्छे नभएको बताएका हुन्।
नेपालले राजाले पक्राउ गर्दा पनि आफू नभागेको भन्दै गल्ती नै नगरि भाग्नुपर्ने कारण नभएको बताए। उनले माधव नेपाल भाग्यो भनेर विभिन्न सञ्चार माध्यममा समाचारहरू आएपछि भ्रमण छोट्याएर भए पनि फर्किएको बताए।
‘कतिपयले माधव नेपाल भाग्यो भनेर लेखे। माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपथ्र्यो। राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे होइन। कुनै गल्ती अपराध बदमासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ। कानूनको प्रक्रिया अन्तर्गत सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने थियो। केहीकेही ले त माधव नेपाल भागे लुकेर बसेका छन्। फर्किने हिम्मत छैन। म बोल्दिनँ चुनौतीको सामना गर्छु,’ अध्यक्ष नेपालले भने।
नेपालले युरोप भ्रमणमा आफू पूर्वनिर्धारित कार्यक्रम अनुसार गएको भन्दै आफू जानुभन्दा एकदिन अघि ललिता निवास प्रकरणमा छानबिन अगाडि बढाउनु भनेर अदालतले भनेको बताए। उनले आफू प्रधानमन्त्री भएको बेलामा ललिता निवास जग्गा प्रकरणको विषय जोडिएको स्विकार गरे।
'बालुवाटारको जग्गाको विषयमा छानबिन होस्। मेरो तर्फबाट जुन सहयोग गर्नुपर्ने भए मेरो सहयोगी भूमिका रहनेछ। निर्दोष नफसुन, दोषी नउम्किउन’ अध्यक्ष नेपालले भने, ‘मैले नितान्त असल मनसायले सरकारको जग्गा सरकारको नाममा हुनुपर्छ। कागजपत्र नभए स्रेस्ता कायम गर्ने भनेर राम्रो गरेको हुँ। सरकारी जग्गा र अन्य जग्गा कानुनसम्मत गर्ने निर्णय भएको हो।’