काठमाडौँ- संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने गराउने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने, सुनील कुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराउने, बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने, विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । उता उमालेले भने आफ्नो अडान कायमै राखेर संसद अवरोध जारि राखेको छ।
क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको एमालेले २३ गतेको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्ने भएपछि अवरोध गरेको थिएन। तर गृहमन्त्रीले सम्बोधन गर्दा उच्चस्तरीय छानबिन समिति गठन गर्ने आश्वासन नदिएपछि एमालेले तत्कालै संसद अवरुद्ध गरेको थियो। सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरुको संलग्ता रहेको भन्दै एमालेले साउन १० गतेदेखि संसद चल्न दिएको छैन।
हिजो पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय समिति र गृहमन्त्रीको राजीनामा एमालेको अडान रहेको स्पष्ट पारेका छन्।