काठमाडौं- काठमाडौं महानगरले सार्वजनिक गरेको छात्रवृत्ति कोटामा अध्ययन गर्ने विद्यार्थीहरूको नामउपर चित्त नबुझे आज (मंगलबार) ५ बजेसम्म निवेदन दिन सकिने व्यवस्था गरेको छ। महानगरले पहिलो चरणमा छात्रवृत्ति कोटामा अध्ययन गर्न पाउनेहरूको नामावली सार्वजनिक गरिसकेको छ।
महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार उक्त नामावलीविरुद्ध चित्त नबुझे आज साँझसम्म निवेदन दिन सकिनेछ।
महानगरबाट साउन २० गते सञ्चालित छात्रवृत्ति परीक्षाको अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूचीमा परेका विद्यार्थीलाई साउन २९ गते सम्बन्धित शिक्षण संस्थामा भर्ना हुन सिफारिस गरिएकामा केही परीक्षार्थीले म्याचिङको नतिजाउपर चित्त नबुझी शिक्षा विभागमा दिएका निवेदनउपर कारबाही भइरहेको छ।
उनले भनेका छन्, ‘पहिलो भर्ना सूचीउपर कुनै गुनासो भए मिति साउन ३० गते बेलुकी ५; ०० बजेसम्म काठमाडौं महानगरपालिका, शिक्षा विभागमा आवेदन दिन सकिनेछ।’
महानगरका अनुसार पहिलो चरणमा विज्ञान विषयमा १,४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङमा ४४ जना, कम्प्युटरमा १८ जना र इलेक्ट्रिकलमा ११ जना गरी जम्मा २ हजार ३२२ जना परीक्षार्थीले छात्रवृत्ति कोटामा भर्ना हुन पाउनेछन्।