काठमाडौं- काठमाडौं उपत्यकामा आँखा पाक्ने समस्या बढ्दै गएको छ । यो समस्या बढ्दै गएपछि उपत्यकाका डेढसय बढी विद्यालय बन्द गरिएको छ ।ठूलो संख्यामा विद्यार्थी संक्रमित हुन थालेपछि सम्बन्धित पालिकाले विद्यालय बन्दको निर्णय गरेका हुन् ।
सोमबारसम्म १०० जना विद्यार्थीमा भाइरल कन्जजन्टीभाइटीस् संक्रमण देखिएपछि काठमाडौंको टोखा नगरपालिका धापासीस्थित हेराल्ड इन्टरनेसनल मावि सोमबारदेखि तीनदिनका लागि बन्द गरिएको छ ।
तीनवटा विद्यालयले धेरै विद्यार्थी संक्रमित भएको भन्दै बिदाका लागि नगरपालिकालाई जानकारी गराएका थिए । तीमध्ये हेराल्डमा ठूलो संख्यामा संक्रमित देखिएको टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रणलाल खुलालले जानकारी दिनुभयो ।
त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि नगरपालिकाभित्रका १७ सामुदायिक, १४३ निजी, १० धार्मिक तथा वैकल्पिक विद्यालय बन्द गरेको छ । ती विद्यालयमा ४० प्रतिशत बढी विद्यार्थीमा संक्रमण देखिएपछि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले भने एक तिहाइ विद्यार्थी संक्रमण भए विद्यालय बन्द गर्ने तयारी गरेको छ । केही सामुदायिक र निजी विद्यालयले विद्यार्थीमा आँखा पाक्ने संक्रमण फैलिइरहेको रिपोर्ट गरेपनि तत्काल विद्यालय बन्दको निर्णय भने नलिएको महानगरले जनाएको छ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले साउन सोमबार र मंगलबारका लागि १८ सामुदायिक र ६३ वटा संस्थागत विद्यालय बन्द गरेको छ ।
ललितपुरकै महालक्ष्मी नगरपालिकाको युनाइटेड स्कुल आइतबारदेखि बन्द छ । एक महिनायता देशभर फैलिएको भाइरल कन्जन्टिभाइटिस् संक्रमण उपत्यकाबाहिर घट्दै गएपनि काठमाडौंमा भने तीव्र रूपमा फैलिइरहेको छ । कीर्तिपुर आँखा अस्पतालमा दैनिक ६० देखि ७० जना आँखा पाक्ने बिरामी आइपुग्ने गरेका छन् ।
तिलगंगा आँखा प्रतिष्ठानमा गत जुलाइयता १ देखि १० अगस्टसम्म एक हजार ३९७ जनामा यो समस्या पहिचान भएको छ ।