बैतडी- सुनचोरीको आरोपमा प्रहरीले बैतडीमा एक दम्पतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका–५ लेठ्ठेकोटका २३ वर्षीय गोपालनाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मीनाथ रहेका छन्।
स्थानीय जयानन्द नाथको घरबाट ५ तोला सुन चोरी गरेको आरोपमा उनीहरू दुबैजनालाई नियन्त्रणमा लिइएको बैतडी प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। घरमा रहेको ५ तोला सुनचोरी भएको भनेर गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घरबाटै पक्राउ परेका दुबैजनाविरुद्ध चोरीसम्बन्धी मुद्दा दर्ता भएर ७ दिनको म्याद थप गरिएको छ। पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.