काठमाडौँ- झण्डै तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र लाग्ने मत्स्यनारायण मन्दिरको मेला आज सकिँदैछ ।
तर, औपचारिक समापन भने भदौ १ गते गरिने संयोजकसमेत रहनुभएका चन्द्रागिरि नगरपालिका–९ का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो ।
काठमाण्डौको चन्द्रागिरि नगरपालिका–९ मा पर्ने मन्दिरमा अहिले दैनिक हजारौँ भक्तजनको भिड लाग्ने गरेको छ ।
मत्स्यनारायण कीर्तिपुर र सतुङ्गल दुवै ठाउँबाट जान सकिन्छ । दुवैतिरबाट मत्स्यनारायण जान सार्वजनिक यातायात पाइन्छ ।
कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ सँग जोडिएको मत्स्यनारायण क्षेत्र धार्मिक रूपमा महत्त्वपूर्ण भए पनि यसको प्रचारप्रसार गरी धार्मिक पर्यटक वृद्धिको काम हुन नसकेको स्थानीयबासिन्दाको गुनासो छ ।
भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यही ठाउँमा लिएर उहाँले वेदको रक्षा गर्नुभएको विषय विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
मत्स्य अवताररूपी भगवान् विष्णुले जलमात्र पिएर सत्यव्रत राजासहित सप्तऋषिलाई मत्स्य पुराण सुनाउनुभएको थियो भन्ने विश्वास गरिन्छ ।
अहिलेसम्म २० लाखभन्दा धेरै भक्तजनले मन्दिरमा पूजा, आराधना एवम् दर्शन गरेको मेला व्यवस्थापन समितिले जनाएको छ ।