काठमाडौं- देशका चार जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-६ बौद्ध भाटभाटेनी नजिक बा.५ ख ६३९४ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भएका २३ वर्षीय भिमराज तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापा, कमल गाउँपालिका-५ स्थित सडकमा बीआर ११ एपी ४१४१ नम्बरको भारतीय कारले मे.७ प ४६४४ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-४ बस्ने ६७ वर्षीय डोर प्रसाद खनालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषा, हंशपुर नगरपालिका-९ बालगंगा चोकस्थित खेतमा प्र.२-००२ त ८२९ नम्बरको ट्याक्टर हिलोमा फसेर निकाल्ने क्रममा ट्याक्टरमा जोडिएको रोटाभेटर र इन्जिनको बीचमा च्यापिएर चालक सोही ठाउँ बस्ने ४५ वर्षीय मुकेश पंजियारको मंगलबार राति मृत्यु भएको छ। ट्याक्टरमा च्यापिएर गम्भीर घाइते भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
यसैगरी धनुषा, लक्ष्मीनिया गाउँपालिका-७ स्थित सडकमा ज.१ च १६६९ नम्बरको बोलेरो पिकअपले प्र.२-०२-००३ प ९१५८ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी औरही गाउँपालिका-१ बस्ने २५ वर्षीय पप्पु यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी पिकअपमा सवार १ जनाको स्थानीय सेन्ट्रल अस्पतालमा उपचार भइरहेको छ। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-८ चमेखोलास्थित सडकमा रा.४ प ९९०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सल्यान बागचौर नगरपालिका-२ बस्ने २६ वर्षीय कमल डाँगीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।